रिहा भएलगत्तै धर्मेन्द्र बास्तोलाले गरे पार्टी एकता र सरकारमा जाने संकेत
काभ्रे- नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समुहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा भएका छन् । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका हुन् ।
रिहा भएलगत्तै नेता बास्तोलाले कम्युनिस्ट पार्टीहरुबीच एकता हुनसक्ने संकेत गरेका छन् । सरकारमा जानेबारे पनि उनले यसमा छलफल गरिने बताएका छन् ।
संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् ।
परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।
नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।