प्रचण्ड-नेपाल समूहले दियो केन्द्रिय सदस्यहरूलाई यस्तो निर्देशन
काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई बुधबार पार्टी कार्यलय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
सो समुहले आफ्नो परिचयपत्र र नागरिकता बोकेर उपस्थित हुन केन्द्रिय सदस्यहरूलाई निर्देशन दिएको बताइएको छ । बुधबार दिउँसो एक बजे पार्टी पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको एक नेताले बताए ।
प्रधानमन्त्री केपेव शर्मा ओलीलाई सरकारबाट हटाउन र नयाँ सरकार गठन गर्ने रणनीति बनाइरहेको प्रचण्ड-नेपाल समूहले यस्तो ह्विप जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
केहिदिन अघि सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको थियो ।
पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।
केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ ।
प्रचण्ड-नेपाल समुहले फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो ।