प्रधानमन्त्री ओलीले गरे दुर्गा प्रसाईंको प्रशंसा
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायी दुर्गा प्रसाईंको प्रशंसा गर्दै जे कुरा लिएर उनको विरोध भयो त्यसैलाई ब्राण्ड बनाएर देखाएको बताए । झापाको बिर्तामोडमा प्रसाईँकै पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उनको प्रशंसा गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रसाईंलाई ढुक्क हुन समेत आग्रह गरे । ओलीले भने, ‘दुर्गा प्रसाईंज्यु तपाई ढुक्क हुनुहोस्, बिएण्डी अस्पताल अब मेडिकल कलेज बन्छ ।’
राजनितिक प्रसंगमा ओलीले अर्कोका लागि नभएर नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन्।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो, नेपाली जनताका लागि काम, आवास, बाटो, खानेपानी, विद्यालय, बालबालिकालाई पाठ्यपुस्तक र पढाई दिने कम्फर्टेबल सरकार चाहिएको बताए।
‘हामी नेपाली जनताका लागि काम गर्छौं, प्रधानमन्त्री ओलीले भने, ‘हामी सबैसँग सहयोग लिन्छौं, सबैसँग मित्रता गास्छाैं, सबैसँग सहकार्य पनि गर्छाैं, त्यसैले हाम्रो एउटै गन्तव्य हो समृद्धि नेपाल र सुखी नेपाली।’
‘सर्वोच्च अदालतको निर्णयबमोजिम फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएका छौँ, बैठक राम्ररी चलाउने मेरो प्रयास रहनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘म राजनीति गर्ने मान्छे हुँ, यो त्यो पाऊँ भन्दै मुद्दा हाल्न जाने व्यक्ति होइन, म जान्दिनँ पनि, मलाई केही चाहिए नेपाली जनतासमक्ष निवेदन लिएर जाने छु, कि ममाथि अन्याय भयो मलाई न्याय दिनुहोस् भनेर।’
ओलीले फेरि पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई चुनौती दिँदै भने, ‘सक्छौं भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्, तर हटाउन त्यति सजिलो छैन, हामी देश बनाउने अभियानमा छौं, यसलाई तलमाथि हुन दिँदैनौं, भन्नेहरू भनिरहेका छन्, खुट्टा तान्नेहरू तान्दै गरोस्, म त हिँडछु आफ्नै बाटो,’ उनले भने।
बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रसंगमा प्रधानमन्त्री ओलीले बिएण्डसी मेडिकल कलेजलाई चाँडै सम्बन्धन दिने बताए। सम्बन्धनका लागि सरकारले प्रक्रिया अघि बढाएको र काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाउने उनले दाबी गरे।
विदेशको भन्दा सस्तो उपचार नेपाल हुन्छ, त्यसलाई मध्यनजर गरी झापामा क्यान्सर अस्पताल सञ्चालनमा आएको हो, यसले नेपाली जनतालाई नै प्रत्यक्ष फाइदा पुग्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘मार्सी चामल भनेर दुर्गा प्रसाईंको खुब विरोध गरे, त्यसलाई नै उहाँले एउटा ब्रान्ड बनाइदिनुभयो।’