विकल्पहरु तयार पार्दै प्रधानमन्त्री ओली
काठमाडौँ- संकटकाल लगाउने कुरा बाहेक अन्य विकल्पहरु बारे आफू सोचिरहेको बताएका छन् ।आफूले विभिन्न विकल्पको बारेमा सोचिरहेको बताउँदै फरक बाटोबाट जानसक्ने संकेत गरेका छन् ।
हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डसँग बहुमत नभएको दाबी समेत गरे। प्रचण्डले माइतीघरबाट आफूलाई संसदीय दलको नेता घोषणा गरेकोप्रति व्यंग्य गर्दै उनले नेतामात्रै घोषणा गर्नुभन्दा प्रधानमन्त्री नै घोषणा गर्नु राम्रो हुने कटाक्ष गरे।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनेर देखाउन चुनौती समेत दिए । माइतीघर मण्डलबाट आफूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता भएको सुनेको ओलीले बताए।
‘माइतीघर मण्डलाबाट संसदीय दलको नेता छानिनु भो भन्ने सुनेको थिए। उहाँले आफैँले आफैँलाई छान्नु भो। बहुमत उहाँसँग छ भने संसदबाट प्रधानमन्त्री फेरे भैगो नि,’ ओलीले भने,’ घोषणा नै गर्नु परेपछि दलको नेता मात्रै किन प्रधानमन्त्री ठोकेको भए हुन्थ्यो।’
उनले आफू कुनै आवेश उत्तेजनामा नजाने बताए। स्थिरता नबिग्रिने लक्षण देखिए राजीनामा दिने ओलीको भनाई छ।
‘उपयुक्त विकल्प देखियो भने, स्थिरता तर्फको यात्रा खासै नबिग्रिने देखियो भने राजीनामा गर्न सकिन्छ,’ उनले भने।
अदालतको निर्णयले अस्थिरता देखिने संकेत देखिएको ओलीको दाबी छ। उनले अदालतको फैसलाबारे धेरै बहस गर्नु ठिक नभएको बताए।
‘अदालतको फैसला कार्यान्वयन हुन्छ। त्यो कार्यन्वयन गर्न मेरो कर्तव्य हो। देशमा अन्यौलको स्थिति सिर्जना हुँदैछ। अब यो बहसको चरणमा छ। अब बहस गरिरहनुको अर्थ छैन्,’ उनले भने।
आफूले गल्ती गरेको भए माफी माग्ने तर संसद् विघटन गरेर आफूले गल्ती नगरेको ओलीको दाबी छ। कुनै व्यक्तिले गल्ती गर्यो भन्दैमा आफूले माफी नमाग्ने उनले बताए।
‘गल्ती गर्यो भने माफी माग्छु। कसै व्यक्ति वा निकायलाई गल्ती लाग्नु स्वभाविक हो,’ उनले भने।
राजीनामा पत्रबारे सोध्दा ओलीको जवाफ थियो, ‘म पत्र लेख्दिनँ। मैले लेख्नुपर्ने अवस्था छैन।’