प्रचण्ड भन्छन: ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

प्रचण्ड भन्छन: ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् ।

उनले सभापति देउवा प्रधानमन्त्री ओलीसँग लाग्नै नसक्ने ठोकुवा गरे । प्रधानमन्त्री अ‍ोलीले संसदमा फेस गर्ने बताएकाले आफुहरुले कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउने बताए ।

‘मेरो प्रधानमन्त्रीको दाबी गर्दिनँ । दुई चार दिनभित्रै अन्तिम चरणमा पुग्छौं । शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन, देउवालाई बनाउँछु’, उनले भने ।

प्रधानमन्त्री ओलीलाई संसदबाट अविश्वासको प्रस्तावबाट हटाउने बताएका छन् । अध्यक्ष प्रचण्डले आफूले सत्ताका लागि सम्झौता नगरेको बताउँदै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर जाने बताए ।

अध्यक्ष प्रचण्डले केपी ओली प्रवृतिसँग सम्झौता गरेर एकता सम्भव नभएको बताए । उनले केपी शर्मा अ‍ोलीमा सर्वोच्चले यत्रो फैसला गर्दा पनि नैतिकताको ‘न’ नभएको बताएका छन् ।

‘मैले तेस्तो देख्दिन । हाम्रो दूरी आन्तरिक थियो पुस ५ गते पार्टीको विवादलाई देखाएर संविधानमाथि घात गर्ने संसद विघटन गर्ने काम गर्नुभयो । त्यसपछि हाम्रो अन्र्तविरोध पार्टीभित्रको विरोध मात्र हुन पुगेन । उहाँले पश्चाताप नगरेसम्म..तर, उहाँले पश्चाताप गर्नुहुन्न’, उनले भने, ‘उहाँले प्रचण्डलाई ध्वस्त बनाउँछु भन्दै हिँड्नुभएको छ । अब उनीसँग कसरी एकता हुन्छ ? अब उहाँ प्रतिगमनकारी विचारधाराको मानिस हुनुभयो ।’

उनले भारत र चीनसँग सम्बन्ध सुधार नगरी नेपालमा स्थायी विकास सम्भव नभएको बताएका छन् ।