प्रधानमन्त्री झ्याप्प राजीनामा दिने कायर होइनन्: शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।
प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहँदा मन्त्री श्रेष्ठले भने, “कुनै पनि हालतमा राजीनामा आउँदैन। संसद् शुरू भएपछि प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्नुहुन्छ।”
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्दै सामाजिक सञ्जालमा लेख्ने र सडकमा कुर्लिनेहरूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिए।
मन्त्री श्रेष्ठले अदालतले गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने तर यो निर्णयले झन् विवाद बढाएको टिप्पणी गरे। आफूहरू जनताबाट आएका र जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्ने समेत उनले बताए।
“मुलुक राजनीतिक संकटतर्फ धकेलिएको छ र यसलाई रोक्ने काम ओली सरकारको हो,” मन्त्री श्रेष्ठले भने, “यो अवस्थामा प्रधानमन्त्री ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ।”
उनले अब पनि केपी ओलीको विकल्प नभएको तर्क गरे। संसद् पुनःस्थापना भए लगत्तै केही नेताले केही व्यक्तिलाई प्रधानमन्त्री बनाउने सपना बाँडेको उल्लेख गर्दै उनले भने, “सपना देखाउँदैमा कोही प्रधानमन्त्री हुँदैन। अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ।”
मन्त्री श्रेष्ठले अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको भन्दै अब सबै खेल मैदानबाट छिनोफानो हुने बताए। छ। “हामी मैदानमा उत्रिएका छौँ, खेल खेल्ने तयारीमा छौँ, हामीले गोल गरेरै देखाउछौँ,” उनले भने, “जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छाड्नेवाला छैनौँ, हाम्रै जित सुनिश्चित हुनेछ।”
सुन हो कि पित्तल भनेर छुट्याउन सक्ने क्षमता जनतामा भएको बताउँदै मन्त्री श्रेष्ठले अहिले आन्दोलन गरेर हिँड्ने गुट नक्कली भएको टिप्पणी गरे। “काग भएर मयुरको प्वाख राखेर कराउँदै हिँडेका छन्। जनताले असली मयुर चिनेर प्वाँख हाल्ने मयुररूपी काग बन्नेलाई धिक्कार्नेछन्,” उनले भने।
कार्यक्रममा मन्त्री श्रेष्ठले सीटीईभीटीले गरेका कामको प्रशंसा गर्दै प्राविधिक शिक्षालाई प्राथमिकातामा राखेर अगाडि बढ्ने बताए।