अब राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ: अधिवक्ता शम्भु थापा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

अब राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ: अधिवक्ता शम्भु थापा



काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ओज राख्न नसकेको बताएका छन्। रिपोटर्स क्लबले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कर्तव्यपालनमा दयनीय देखिएका राष्ट्रपति भण्डारीले संविधानको ओज राख्न नसकेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीकासाथै राष्ट्रपति भण्डारीले संविधानलाई विखण्डन गर्ने दिशामा अगाडि बढाएको तथ्य सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भइसकेको उनले बताए।

थापाले संविधान उल्लंघन गर्नेलाई फौजदारी संहिताअनुसार कारबाही गर्ने कानुनी प्रावधान रहेपनि यसकालागि राजनीतिक इच्छा शक्ति जरुरी रहेको जिकिर गरे।

‘राष्ट्रपति र प्रधानमन्त्री संविधान पालनमा चुक्नु भएको छ,’ उनले भने, ‘मुलुकी अपराध संहिताअनुसार दण्डात्मक प्रक्रिया अगाडि बढाउन सकिन्छ, यसका लागि डराउनु हुँदैन।’

प्रधानमन्त्रीले चाहेको बेला प्रतिनिधिसभा विघटन गर्न नपाइने सर्वोच्च अदालतले प्रष्ट सन्देश दिइसकेको बताउँदै उनले स्थायित्व कायम गर्न अबको जवाफदेहीता सांसद र नेताहरूमाथि आइपुगेको उल्लेख गरे।

सर्वोच्च अदालतले संविधानको व्याख्या गरिसकेकोले अब राजनीतिक दलले स्थायित्व दिने कामतर्फ अघि बढ्नुपर्नेमा उनको जोड थियो।