विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न बालुवाटारमा बैठक जारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिहान १० बजेका लागि बैठक बोलाइएको र अहिले सुरक्षा परिषद् बैठक बालुवाटारमा चलिरहेको बताइएको छ ।
सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले विभिन्न आँकलन गरिएको छ । स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्मका केही छलफल हुनेछ ।
सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुने सम्भावना रहेको स्रोतले बताएको छ । छलफलबाट के निष्कर्ष निस्कन्छ त्यही अनुसार मन्त्रीपरिषद बैठकले निर्णय लिने बताइएको छ ।
सहज वातावरण बनेमा वार्ताको लागि सकारात्मक रहेको विप्लवको धारणा आइसकेकोले सरकारले यस्तो तयारी गरेको हो ।