न्यायाधीशहरुको सुरक्षाबारे चासो: सेनापति आफै पुगे सर्वोच्चमा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

न्यायाधीशहरुको सुरक्षाबारे चासो: सेनापति आफै पुगे सर्वोच्चमा



काठमाडौं- शोमबार बिहान पौने एघार बजेको हाराहारीमा प्रधानसेनापति पूर्णचन्द्र थापा सुरक्षाकर्मीको एस्कर्टिङ्गसहित सर्वोच्च अदालत पुगेका थिए ।

अस्ति प्रधानमन्त्री केपी ओलीले बिराटनगरमा भाषण गर्दै अदालतले उहाँको कदमलाई सदर नगरे आन्दोलन गर्ने चेतावनी दिएसङ्गै न्यायालयले सुरक्षा खतरा महसुस गरेको र भोलि नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई पनि यसैगरी अदालत बोलाएर आवश्यक सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिन लागिएको श्रोतले बताएको छ ।

प्रधानन्यायाधीशलाई सरकारले मेजरको नेतृत्वमा सैनिक सुरक्षा उपलब्ध गराएको छ,जुन अन्य न्यायाधीशको हकमा आकर्षित हुँदैन । प्रधानमन्त्रीनिकट नेकपाको महेश बस्नेत टोलीले १३ गते बिहिवार सर्वोच्चले सुनाउने फैसलालाई प्रभाव पार्न माइतीघर मण्डलामा साइबर सेना उतार्ने तयारी थालेको छ । गत हप्ता नै संबैधानिक इजलासका प्रतिनिधि सभा विघटनसम्बन्धी मुध्दा सुनुवाइ गर्ने अरु चार न्यायाधीशको घरमा थप प्रहरी खटाइसकिएको छ ।

तर, अस्ति आम नागरिकसहित देशकै शान्ति सुरक्षा कायम राख्न पर्ने प्रधानमन्त्री तथा रक्षामन्त्रीले नै न्यायालयलाई धम्काएपछि प्रधानन्यायाधीश सेनापतिलाई बोलाउने निश्कर्षमा पुगेको बताइन्छ । प्रधानन्यायाधीश राज्यको मर्यादाक्रममा रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षपछि बिग सिक्सभित्र पर्छन भने राज्यका तीन अङ्ग कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकामध्ये यौटा अङ्गको प्रमुख हुन् जसलाई आवश्यकताको आधारमा संबैधानिक नियुक्तिका पदाधिकारीहरुलाई बोलाएर परामर्श गर्न बाधा छैन ।

अदालतको मानहानीमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्व प्रधानन्यायाधीश गतसाता सर्वोच्चको भुईंतल्लामा गएर फर्किएका थिए । तर, थापाको हकमा व्यक्तिगत मुद्दा मामिला नभएकोले निर्माणाधीन अदालत भवनपछाडिको सुरक्षा ब्यारेकसमेत निरीक्षणका नाममा उनले अदालत प्रवेशलाई अर्थपूर्ण ठानिएको छ ।

गाडीबाट ओर्लेर सरासर माथिल्लो तलामा रहेको प्रधानन्यायाधीश चोलेन्द्र समशेरको कार्यकक्षमा प्रवेश गरेका प्रधानसेनापति थापासँग राणा एक्लैले भेटगरेको स्रोतको दाबी छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला गर्ने दिन नजिकिँदै गएको सन्दर्भमा भएको आज बिहानको भेटलाई उत्सुकता, कौतहलता र आशंकाले हेरिएको जनआस्थाले लेखेको छ ।