प्रधान सेनापति र प्रधानन्यायाधीशको त्यो आकस्मिक भेटले ल्याएको तरङ्ग
काठमाडौँ- प्रधान सेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालतमै पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेको बिषयले अहिले राजनीतिक माहोल र सामाजिक सञ्जाल दुवै तातेको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा सेनापति र प्रधान न्यायाधीश बिचको भेटलाई निकै महत्वको साथ हेरिएको छ।
तर, दुई जनाको भेट कुनै राजनीतिक कुराको लागि नभएको नेपाली सेनाले दावी गरेको छ। नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको विषयमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च अदालत पुगेको बताइएको छ । सेनाले अदालतको ४० रोपनी जग्गा भोगचलन गर्दै आएको छ। त्यसैको विषयमा छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतले अहिले रहेको भवनको पछाडि नयाँ भवन बनाउँदै छ ।
उक्त भेट अराजनीतिक भएपनि पछिल्ला घटनाक्रमका बिचमा भएको भेटलाई लिएर धरैले धेरैखाले अड्कल काटेका छन् । अहिले सामाजिक सञ्जालमा पनि यसबारे चर्को बहास भैरहेको छ ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा यसविरुद्ध दर्जन बढी रिट परेका थिए । अहिले यो मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ र अदालतको संवैधानिक इजलासले फैसलाको तयारी गरिरहेको छ ।