सस्तो भन्दै प्रचार गरेर किनेको खोपमा २५ करोड घाटा
काठमाडौं- सरकारले भारतबाट खरिद गरेको २० लाख डोज खोप महँगो मूल्यमा खरिद गरेको खुलेको छ ।
सरकारले खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आइतबार नै काठमाडौं आइसकेको छ । बाँकी १० लाख डोज खोप चाँडै ल्याउने सरकारको तयारी छ ।
सरकारले सेरम इन्सिच्युटसँग खरिद गरेको खोप भारतमा भन्दा नेपालमा करिब १२८ रुपैयाँ महँगो परेको हो । भारतमा उक्त खोपको मूल्य २१० रुपैयाँ भारु पर्न आउँछ । जसअनुसार खोपको नेपाली मूल्य ३३६ रुपैयाँ पर्छ ।
सरकारले भने प्रतिडोज खोप ४ डलर अर्थात ४६४.४८ रुपैयाँ पर्ने देखिएको छ । यसरी हेर्दा २० लाख डोज कोरोनाको खोप खरिद गर्दा साढे २५ करोड रुपैयाँ सरकारलाई नोक्सान परेको छ ।
स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भारतसँग सहुलियत दरमा खोप खरिद गरेको दाबी गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘२० लाख डोज खोप खरिद प्रक्रिया पूरा भइसकेको छ । खोप सहुलियत दरमै आउँदैछ ।’
भारतमा उही २० लाख डोज खोप खरिद गर्दा ६७ करोड २० लाख रुपैयाँ पर्छ । भारतले उक्त खोप नेपालसहित विभिन्न मुलुकलाई उपलब्ध गराएको छ । बंगलादेशले सेरमले भारतलाई उक्त खोप डलर भन्दा कम मूल्यमा विक्रि गरेकाले आफुहरु पनि सोही मूल्यमा खरिद गर्ने बताएको छ ।
भारतीय स्वस्थ्य राज्यमन्त्री अश्विनी चौबेले सरकारले कोभिशिल्ड खोप प्रतिडोज २१० भारुमा खरीद गरेको दाबी गरेका छन् ।
‘सरकारले कोभिशिल्ड भ्याक्सिन भारतको सेरम संस्थानबाट प्रतिडोज २१० रुपैयाँमा खरिद गरेको छ’, राज्यमन्त्री चोबेले लोकसभामा भने ।
चौबेले भने, ‘सेरमले कोभिशिल्ड भ्याक्सिन भारतले २१० मा खरीद गरिरहेको छ जुन प्रति डोज २.७ डलर जति हुन आउँछ ।’
स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले अहिलेको अवस्थामा नेपालले सहुलियत दरमा खोप पाएको दाबी गरे । उनले खोपको उत्पादन कम र माग बढी भएकाले मूल्य तमाथि परेको बताए ।
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग २० लाख डोज खोप खरिदका लागि आवश्यक रकम निकासा गर्ने निर्णय गरेको थियो । बैठकले कोभिसिल्ड खोप खरिद गर्न आवश्यक पर्ने अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरिद गर्ने बाटो खुला भएको थियो ।