माफी माग्दै राजीनामा दिए ओलीको भलो हुन्छ: मिलन पाण्डे
काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई चिढाएर गल्ती गरेको अभिव्यक्ति बताएका छन् ।
सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले अब नेताहरूले युवा पुस्तालाई झुक्याउन नसक्ने बताए ।
‘देशमा २४ वर्षमुनि आधा जनसंख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने।
पाण्डे अगाडी भन्छन्, ‘ देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ। अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ ।’
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनुका साथै युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो । ‘कामचलाउ’ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेरबदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।
शान्ति, समृद्धि र विकासका सपना पूरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो।