राष्ट्रपति भण्डारीमाथि विनुले लगाईन गम्भीर आरोप

शिवप्रसाद पौडेलकी श्रीमती विनु रायमाझी पौडेलको गुनासो:- राष्ट्रपतिले समेत हत्यारालाई छुटकारा दिन थालेपछि देशका जनताले कसरी न्याय पाउलान ? आफ्नो श्रीमानको हत्यारा खोज्न नसक्नेले अर्काको श्रीमानको हत्यारा पनि छुटोस भन्ने चाहेको हो कि ? राष्ट्रपतिले आफ्ना पतिको हत्यारा त खोज्नु भएन तर, अर्की महिलाको श्रीमानको हत्यारा पत्ता लाग्दासमेत आममाफी दिनुभयो यो निकै दु:खद छ ।
देशमा किन यसरी न्याय हरायो ? यो देश किन यस्तो भयो ? हत्यारालाई राष्ट्रपतिबाट नै आममाफी र संरक्षण हुन्छ भने जनताले के सोच्ने ?
……
तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलकोे हत्यामा जेल सजाय भोगिरहेका तीनजनालाई मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकोमा परिवारले आक्रोश पोखेको छन् ।
भरतपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यहरूले राष्ट्रपति जस्तो व्यक्तिबाट नै हत्याराहरूलाई आम माफी हुन थालेपछि जनताले न्याय पाउने आशा हराएको बताए । सत्ता र शक्तिको आडमा राष्ट्रपति भण्डारीले हत्याका दोषीलाई सफाइ दिएकोमा उनीहरूको ब्यापक असन्तुष्टि थियो ।
शिवकी पत्नी विनु रायमाझी पौडेल, उनका छोरा १६ वर्षीय सिबिनजंग, दाजु तारानाथ र भाइबुहारी रीताले राष्ट्रपतिको यस्तो निर्णय दुर्भाग्य भएको बताए ।
राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।प्रजातन्त्र दिवसका अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १३ जना कैदीले आम माफी पाए । जसमध्ये तीन जना शिव पौडेलको हत्यामा संलग्न भई जन्मकैद सजाय भोग्दै आएका थिए । सर्वस्वसहित जन्मकैद फैसला भएका आठजनामध्ये सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइएको छ ।
आममाफी नदिइएको भए केसी २० असार ०८७, श्रेष्ठ २३ साउन ०८७ र मोक्तान ३ भदौ ०८७ सम्म कारागारमै रहनुपर्ने थियो । सरकारको सिफारिसमा आममाफी पाउने तीनैजना नेकपा ओली समूहका समर्थक हुन् । छुटेका तीनैजना तत्कालीन नेकपा एमालेको युवा संघका कार्यकर्ता हुन् ।
वि.सं. २०६८ पुसमा जिल्ला कारागार भरतपुरभित्र तत्कालिन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । केराबारीमा भएको गोली काण्डको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको समयमा कारागारमा पौडेलको हत्या गरिएको थियो । हत्याको आरोपमा उनीहरु तीन जनालाई २० वर्ष कैद सजाय फैसला भएको थियो । हाल उनीहरु १० वर्षमै छुटेर कारागारमुक्त भइसकेका छन् ।
विनुले हत्याको मुद्दामा कारागार रहेका व्यक्तिलाई प्रजातन्त्रकै खिल्ली उडाउँदै आममाफी दिइएको र यसले आफूहरूमाथि अन्याय भएको बताइन् । उनले भनिन्, ‘अपराधी जेल गएर पश्चात्ताप गर्दै थिए । कैद सजाय भुक्तान गरेपछि छुट्नु स्वाभाविक थियो, तर पहिले नै छुट्नु पीडितमाथि अन्याय भयो ।’
विनुले नेकपा फुटेपछि कार्यकर्ता बढाउन प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएको आरोप लगाइन् । राष्ट्रपति भण्डारीले आफू नारी भएर पनि अन्य नारीको मर्म नबुझेको उनले गुनासो गरिन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो पार्टीको सदस्य भयो भन्दैमा अपराधीलाई आममाफी दिने ?’ उनले प्रश्न गरिन् ।
उनले राष्ट्रपति भण्डारीलाई प्रश्न गरिन्, ‘उहाँ (राष्ट्रपति)ले आफ्नो श्रीमान्को हत्यारा खोज्न सक्नुभएन । अर्की महिलाको श्रीमान्को हत्यारा पत्ता लाग्दासमेत आममाफी दिनुभएको छ । हामी यसमा धेरै चिन्तित छौँ । किन न्याय हराएकोे भयो यो देश ? हत्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ? हामीले कसरी न्याय पाउँछौँ अब ? न्याय पाउन के गर्नुपर्छ ?’
शिवका भाइ गोविन्द पौडेलको पनि ३ जेठ ०६६ मा सार्वजनिकस्थलमै आक्रमणपछि मृत्यु भएको थियो । भाइको हत्या अभियोगमा थुनिएका बन्दीहरूको एउटा समूहले २० मंसिरमा भरतपुर कारागारमा गरेको आक्रमणबाट सख्त घाइते तरुण दल चितवनका अध्यक्ष शिवको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार गर्दागर्दै २ पुसमा मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा पौडेलकी श्रीमती बिनु रायमाझी पौडेलले सरकार र राष्ट्रपति जस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य भएको भन्दै यसविरुद्ध आफू अदालत जाने बताइन् । उनले भनिन्, ‘राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो कि अर्काका हत्यारालाई छुटाउने हो’ उनले भनिन्, ‘उनीहरुलाई के कारणले माफी दिइएको हो ?’

