ओलीले नौटङ्की गरेर सत्ता जोगाउने खेल गर्दैछन्: गोकर्ण विष्ट
गुल्मी- पूर्वमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले एकथरी सपना देखाएर अर्कै बाटो लागेको बताएका छन् । उनले जनतालाई समृद्धिको सपना बाँडेर ओलीले गणतन्त्र र संविधान धरापमा पारेको बताएका हुन् ।
गुल्मीको तम्घासमा युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता विष्टले यो खेलमा प्रधानमन्त्री ओली अझै निरन्तर लागेको आरोप समेत लगाए । नेता विष्टले कम्युनिस्टले प्राप्त गरेको दुई तिहाई मतलाई प्रधानमन्त्रीले उत्तेजना र स्वार्थका लागि प्रयोग गरिरहेको बताए ।
उनले केपी ओलीले निर्वाचन आयोग र अदालतलाई निरन्तर धम्क्याएको संकेत गर्दै थर्काएर र सूर्य चिन्ह नपाइने भन्दै त्यस्तो दिवा सपना नदेख्न आग्रह गरे । उनले केपीको दम्भलेभन्दा कानुनअनुसार सूर्य चिह्न बहुमत सदस्यले पाउने समेत बताए ।
उनले प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा युवा नेतृत्वको मनमा पार्टी र हातमा झन्डा बोकेर अगुवाई गर्ने बताए ।
उनले निर्वाचनमा समृद्धिको आश्वासन देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण भएको भन्दै अहिलेको सरकार नागरिकको समस्यासँग भन्दा नौटङ्की गरेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए ।