प्रचण्ड-नेपालले कार्यकर्तालाई दिएको त्यो रहस्यमय निर्देशन
काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहले आफ्ना नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनीहरूले संसद पुनःस्थापना हुने संकेत गर्दै यस्तो उर्दी जारी गरेका हुन् ।
त्यतिमात्र होइन केन्द्रीय समिति बैठकमा प्रचण्ड-नेपालले आउने जस्तोसुकै परिस्थितिसँग लड्न तयार हुन समेत निर्देशन दिएका छन् । हठात बैठक डाकेर उनीहरूले दिएको यस्तो निर्देशनले पार्टीमा तरङ्ग ल्याएको छ । कतिपयले यस्तो निर्देशनलाई अर्थपूर्ण मानेका छन् ।
एकातिर सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्दामा फैसला गर्ने तयारी गर्नु र अर्कोतिर निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे निर्णयको तयारी गर्नु र प्रचण्ड-नेपाल समूहले लड्नका लागि तयार रहन निर्देशन दिनुलाई सामान्य हिसाबले हेर्न नहुने केही नेताहरूले बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।
शिर्ष नेताहरूले यस्तो निर्देशन दिइरहँदा बैठकमा उपस्थित भएका नेता कार्यकर्ताहरू आश्चर्यमा परेका थिए ।
त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संगाठनिक एकीकरणको काम केहि दिनभित्रै सक्ने बताएको प्रवक्ता श्रेष्ठले बताए ।
राजनीतिक परिवर्तनलाई जोगाउन नेकपा प्रतिवद्ध रहेको उनको भनाइ छ । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसारअगाडि बढेको आरोप लगाउँदै छिटै पतन हुने बताए । श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गरे । आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै सन्तुष्ट हुन नसकेको उनले बताए ।
प्रतिनिधिसभा बिघटनको बिषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खबर आएको र अब कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रित रहेको उनले बताए। बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए । निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरूले बताएका छन् ।