संवैधानिक इजलासमा बहस सकियो: फैसलाको तयारीमा लाग्यो सर्वोच्च
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । बहस सकिएसँगै संवैधानिक इजलासले फैसलाको तयारी गर्नेछ ।
शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म बहस नोट उपलब्ध गराउन आदेश गरेका छन् । तर, निर्णय सुनाउने मिति भने उनले बताएनन् । जबराले भनेका छन्, ‘फैसला जहिले पनि आउन सक्छ । १० गतेभित्र बहस नोट पेस गर्नुस् ।’
पाठकले राय दिने क्रममा संविधान कोमामा भए सबै कोमामा हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘संविधान बिरामी छ, कोमामा छ भन्ने कुरा पनि आयो श्रीमान् । तर, न यो बिरामी छ न यो कोमामा छ । यो बिरामी छ भने हामी पनि बिरामी छौँ । किनकि यो हाम्रो लागि अक्सिजन हो ।’
सरकारी वकिलले विघटनको बचाउ गर्ने क्रममा संविधान बिरामी रहेको बताएका थिए । संसद् विघटन सदर गरेर संविधानलाई पुनर्जीवन दिनुपर्ने सरकारी वकिलले तर्क गरेका थिए ।