परिस्थिति खतरा बनेको भन्दै प्रचण्ड–नेपालले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

परिस्थिति खतरा बनेको भन्दै प्रचण्ड–नेपालले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक



काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल पक्षको आकस्मिक केन्द्रीय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने तयारी गरिएको छ।

बिहीबार अकस्मात सूचना पठाएर सबै केन्द्रीय सदस्यलाई आज शुक्रबार सक्कली नागरिकतासहित पार्टी कार्यालय आइपुग्न निर्देशन दिइएको थियो।

सोहीअनुसार नेता तथा केन्द्रीय सदस्यहरु नागरिकतासहित केन्द्रीय कार्यालय पुगिसकेका छन् ।

जस्तोसुकै परिस्थिती आउन सक्ने र त्यसको लागि तयारी गर्ने भन्दै बैठक डाकिएको एक नेताले बताए ।

पार्टी आधिकारिकता र निर्वाचन चिन्ह सूर्य दाबी गरिरहेको विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले सोहि प्रयोजनका लागि केन्द्रीय सदस्यहरुलाई बोलाएको हुनसक्ने अनुमान गरिएको छ।

तर आजै आयोग जाने नजाने टुंगो भने लागि नसकेको नेताहरुले बताएका छन्। आयोग जानका लागि आवश्यक तयार भने पार्टीले सुरु गरिसकेको छ।

त्यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्र लगायतका कागजात संकलन गरी स्क्यान समेत गरिसकिएको छ।

निर्वाचन आयोगमा ती सबै कागजपत्र लिएर जाने तयारी भएको चर्चा भए पनि आयोग आजै जाने तय भइनसकेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

शुक्रबार बिहानदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्र स्क्यान गरिएको एक नेताले बताए।