नागरिकता बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

नागरिकता बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह



काठमाडौँ- विभाजित नेकपाको आधिकारिता विवाद टुंग्याउन दवाव दिनेगरी शुक्रबार प्रचण्ड-माधव समूह निर्वाचन आयोगमा जाने भएको छ । यसपटक भने केन्द्रीय सदस्यको नागरिकता नै बोकेर नेताहरू आयोग जान लागेका हुन् ।

आधिकारिता विवाद टुंग्याउन आयोगले ढिला गरेपछि प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरु शुक्रबार नागरिकता बोकेर निर्वाचन आयोग जाने भएका हुन् ।

उक्त समूहले केन्द्रीय सदस्यहरुलाई शुक्रबार नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको एक नेताले बताए ।

बहुमत सदस्य आफूहरुसँग हुँदाहुँदै पनि आयोगले निर्णय दिन आनाकानी गरेको भन्दै दाहाल नेपाल समूहका केन्द्रीय सदस्य आयोग जान लागेका हुन् । स्रोतका अनुसार शुक्रबार मध्यान्ह १२ बजेपछि पेरिसडाँडामा जम्मा भएर आयोग जाने उनीहरूको तयारी छ ।

दुई महिना बित्दा पनि आयोगले नेकपा विवादबारे कानुनी र आधिकारिकताको निर्णय नलिएको भन्दै प्रचण्ड-माधव समूह रुष्ट बनेका छन् । आयोगले नेकपा विवादलाई थाती राखेर निर्वाचन तयारी थालेपछि दाहाल नेपाल समूह पुन: आयोग जान थालेको हो ।

पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ थियो । यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दाबी गर्दै २८७ जनाको नाम बुझाएको छ ।

आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्न थालेको समाचार प्रकाशमा आएकै बेला दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आयोग जान भएको हो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलगत्तै नेकपा राजनीतिक रुपमा विभाजित भएको थियो ।