प्रेस पासको अवधि ५ वर्ष बनाउने तयारी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाइ सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा बुधबार उनले पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाएर गरिमालाई उच्च राख्नेतर्फ आफ्नो ध्यान रहेको बताए । पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाइ छ ।
संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफूले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि आग्रह गरे ।
मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताए । प्रेस पास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनको भनाइ छ । प्रेस पास वर्षैपिच्छे नवीकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्याउन मन्त्रालयका तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए ।
त्यसैगरी, पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउन पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाइ छ ।
उनले अनलाइन सञ्चारमाध्यमहरु पुस मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी नवीकरण गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टीभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए ।
मन्त्री गुरुङले जुन सूचनाको माध्यमबाट हिंसा, अशान्ति, द्वन्द्व सिर्जना हुन्छन् त्यसको व्यवस्थापनबारे सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउनेतर्फ आफ्नो ध्यान गएको बताए । सोसल मिडियाहरु पनि कानुनी प्रक्रियामा आउनुपर्ने उनको भनाइ छ । विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उनले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको बताए । उनले दश करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि बताए । मन्त्री गुरुङले वैशाख १७ र २७ गते निर्वाचन हुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने पनि बताए ।