इजलासमा प्रधानमन्त्रीका कुरा गर्न नपाइने
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन विरुद्ध जवाफी बहस आज आइतबारबाट सुरू भएको छ । आज अधिवक्ता विकास भट्टराई सहित दिनमणि पोख्रेलले बहस गरिसकेका छन् ।
तर इजलासमा बहस गर्ने अधिवक्ताहरूलाई प्रधानमन्त्री केपी ओलीको धेरै कुरा गर्न भने नपाइने रुलिङ भयो ।
बहसका क्रममा अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा बोल्दैगर्दा उनीमाथि रोक लगाइएको थियो । प्रधानमन्त्री ओलीले दोहोरो चरित्र देखाएको बिषय उठाएपछि त्रिपाठीलाई चरित्रमा नजान न्यायाधीशले रोकेका थिए ।
संसद बिघटनविरुद्ध परेको रिट निवेदनमा विपक्षीले उठाएका विषयको जवाफ दिइरहँदा अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले दोहोरो चरित्र देखाएको, प्रधानमन्त्री ओलीले एकातिर काम गर्न दिइएन भनेर संसद विघटन गरेको र अर्कोतर्फ आफूले जति कुनै पनि प्रधानमन्त्रीले काम नगरेको भन्दै भाषण गरिरहेको बताएपछि उनलाई न्यायाधीश अनिल सिन्हाले रोकेका थिए ।
सिन्हाले इजलाशमा भाषणका कुरा र यसअघि नै उठेका विषय नदोहोर्याउन ध्यानाकर्षण गराएका थिए ।