लुम्बिनी प्रदेशका सबै ठाउँमा ओली पक्षले चुनाव जित्ने शंकर पोखरेलको दाबी
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समुहका नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रमा आफूहरूले चुनाव जित्ने दाबी गरेका छन् । आउँदो वैशाखमा चुनाव हुने र सबै क्षेत्रमा आफूहरूले चुनाव जित्ने उनको दाबी थियो ।
मुख्यमन्त्री पोखरेलले गत चुनावमा लुम्बिनीका केहि स्थानमा कांग्रेस लगायतका पार्टीले चुनाव जितेको भन्दै आब भने सबै स्थानमा ओली समुहले चुनाव जुट्ने घोषणा समेत गरे ।
पोखरेलले जनयुद्धको थलोका रूपमा रहेको रोल्पा र रुकुममा विजयको झन्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरे ।
रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् ।
ओली समूहले बुटवलमा आयोजना गरेको सभामा उनले भने ‘रोल्पा, रुकुमलाई जनयुद्धको थलोका रूपमा कमरेड प्रचण्डले जे चाह्यो त्यही हुने थलोका रूपमा चित्रण गर्ने गरिन्छ । तर, आउँदो चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झन्डा फहराउँदै छ भन्ने कुराको उद्घोष गर्न चाहन्छु । र त्यसका माध्यमबाट हामी प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामी रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडि बढेको कुरा म तपाईंहरूसमक्ष राख्न चाहन्छु ।’
पोखरेलले प्रचण्ड–माधव समूह चुनावबाट भागेको आरोपसमेत लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पनि भुइँमा पछारिएको उनको भनाइ छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजे पनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको पोखरेलको जिकिर छ ।