टोपबहादुरले मागे प्रचण्डसँग १९ अर्बको हिसाब - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

टोपबहादुरले मागे प्रचण्डसँग १९ अर्बको हिसाब



काठमाडौं- तत्कालिन समयमा प्रचण्ड-बाबुरामका निकट मानिएका माओवादी जनयुद्धकालका एक कमान्डर टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग १९ अर्बको हिसाब मागेका छन् ।

रायमाझीले तत्कालिन माओवादी लडाकुको नक्कली संख्या देखाएर प्रचण्डले १९ अर्ब रुपैया हिनामिना गरेको बताएका छन् ।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै रायमाझीले तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग धेरै हिसाबकिताब माग्न बाँकी रहेको समेत बताए ।

उर्जामन्त्री समेत रहेका रायमाझीले १९ हजार सेना राखेर ३४ हजार सेनाको संख्या देखाएर भत्ता आफूहरूले बुझेको र त्यसको हिसाब बाबुराम भट्टराईले राखेको समेत बताए ।

रायमाझीले बाबुराम भट्टराईका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब रहेको समेत खुलासा गरे ।

उनले कार्यक्रममा भने, ‘प्रचण्डजी, त्यो पैसा कहाँ गयो ?’

त्यतिमात्र होइन रायमाझीले वाइसिएलका लागि लिएको थप रकमपनि प्रचण्डले झ्वाम पारेको बताए । रायमाझीले आफूहरुले प्रचण्डसँग त्यसबेलाका हिसाब माग्न बाँकी रहेको बताए ।

रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरूको कुनै माग सम्बोधन नगरेको भन्दै लडाकुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको बताए ।

उनले आफूहरुको आग्रह बमोजिम ओली नेतृत्वको सरकारले जनयुद्धका लडाकुहरुको लागि सम्मान र राहत प्याकेज ल्याएको तथा उच्चस्तरीय समिति बनाएको बताए ।