साढे पाँच घण्टामै सरकारले घुँडा टेकेपछि…
काठमाडौं– बिहिबार मध्यान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई साढे पाँच घण्टामै रिहा गर्न सरकार र प्रहरी बाध्य भएको छ । पक्राउपछि चर्किएको चौतर्फी दवाव थेग्न सक्ने अवस्था नभएपछि प्रहरीले उनलाई बिहीबारकै साँझ रिहा गरेको हो।
नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बुट बझारेको भन्दै सामाजिक संजाल रंगिएका थिए ।
६२/६३ को आन्दोलनमा झाँक्रीको राताम्य भएको फोटो दिनभर सामाजिक संजालमा भाइरल बनेको थियो भने मानवअधिकार लगायतका संघ संस्थाहरूले बिनासर्त रिहाइ गर्न माग गर्दै प्रहरी र सरकारमाथि दवाव बढाएका थिए ।
नेकपाका युवाहरू सडकमा प्रदर्शनमा उत्रिएका थिए भने उनलाई रिहा नगरे देशव्यापी हडतालको घोषणा गरेका थिए ।
नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै पक्राउ गरिएको हो।
शंखमूलस्थित निवासबाट समातेर बानेश्वरमा रहेको महानगरीय प्रहरी अपराध महाशाखामा ल्याइएकी झाँक्रीलाई प्रहरीले अहिले छोडिदिएको हो।
रिहा भएपछि उनले आफूले कसैको मानमर्दन नगरेकाे भन्दै अभिव्यक्ति स्वतन्त्रताका लागि लडिरहने बताइन्।
झाँक्री रिहाइको माग गर्दै आजै अधिवक्ता गुणराज आचार्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। रिटको पेसी आइतबारका लागि तोकिएको छ।