रामकुमारीलाई ७ वर्ष जेल र जरिवाना हुनसक्ने - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

रामकुमारीलाई ७ वर्ष जेल र जरिवाना हुनसक्ने



काठमाण्डौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी झाँक्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले उनकै निवास शङ्खमुलबाटै पक्राउ गरेको हो ।

झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुर अन्तर्गत अनुसन्धान गर्न पक्राउ गरिएको उल्लेख गरिएको छ । यस कसुरअन्तर्गतको मुद्दामा सात वर्षसम्म कैद ७० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५८ अनुसार यदि राज्यविरुद्धका कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद या ७० हजार रुपैयाँ जरिबाना या दुवै सजाय हुन सक्नेछ ।

झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाएकी थिइन् । झाँक्रीको अभिव्यक्तिपछि उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए ।

यस्तो छ व्यवस्था:

५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः

(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।

५९. हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएकोे मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।

अहिले उनको पक्राउविरुद्ध देशव्यापी विरोध भैरहेको छ ।