झाँक्रीले प्रहरीलाई भनिन: पक्राउ पूर्जी लिएर आउ
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जी लिएर आफूलाई पक्राउ गर्न आउन आग्रह गरेकी छिन्।
बिहीबार शंखमुलस्थित उनकै निवासमा पक्राउ गर्न पुगेको प्रहरीलाई उनले अफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन भनेकी हुन्।
उनलाई बिहीबार १० बजे महानगरीय अपराध महाशाखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर सोधपुछको लागि प्रहरीले बोलाएको थियो।
उनले भनिन्, ‘राजनीतिक मुद्दा हो। सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु।’
झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।
झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।
बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।