२८ गते बृहत् आमसभा: दुई लाख कार्यकर्ता उतार्ने यस्तो छ तयारी
काठमाडौं- माघ २८ गते बृहत् आमसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दुई लाख भन्दा बढी कार्यकर्ता उतार्ने भएको छ । सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले आमसभाका लागी व्यापक तयारी गरेको र सहज उपस्थिति बनाउने बताइएको छ ।
बिभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेका नेकपाका दुई समूह अहिले प्रदर्शन र सभाको होडबाजीमा छन् ।
दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिस ल्याएर आम सभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको भन्दै खबरदारी गर्ने भएको हो। देशव्यापी रूपमा विरोधसभा आयोजना गर्दै आएको दाहाल-नेपाल समूहले तेस्रो चरणको संघर्षको कार्यक्रमअन्तर्गत राजधानीमा विशाल आमसभा गर्न लागेको हो।
संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कनेछ। त्यसअघि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुसहरू निकालिनेछन्।
संघर्ष समितिका अनुसार पुल्चोकबाट सुरु हुने जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा मिसिनेछ। त्यसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल र प्रमेश हमालले गर्नेछन्। ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि त्यो जुलुसमा सहभागी हुनेछन्। त्यस्तै त्रिपुरेश्वरबाट सुरु हुने सहायक जुलुस सुन्धारामा पुग्नेछ। उक्त जुलुसको नेतृत्व स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनाद्र्धन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्। माइतीघरबाट सुरु हुने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ। त्यस जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव र हरिबोल गजुरेललगायत नेताले गर्नेछन्।
त्यसैगरी केशरमहलबाट सुरु हुने जुलुस दरबारमार्ग, जमल, कमलादी, असन, इन्द्रचोक, न्यूरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ भने त्यसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायत नेताले गर्नेछन्। जमलबाट सुरु हुने जुलुस कमलाक्षी, असन, इन्द्रचोक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ। सो जुलुसको नेतृत्व लीलामणि पोखरेलसहित केन्द्रीय सदस्यहरूले गर्नेछन्।
सहायक जुलुस सुन्धारमा जम्मा भइसकेपछि मूल जुलुस वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ। दाहाल–नेपाल समूहले गत १४ माघमा पनि भृकुटीमण्डपमै विरोधसभा आयोजना गरेको थियो। यसअघि ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको थियो। दाहाल–नेपाल समूहले काठमाडौंमा आफ्नो शक्ति प्रदर्शनका लागि देशभरबाट नेता–कार्यकर्ता र शुभेच्छुकलाई काठमाडौं बोलाएको छ।