ओली पक्षको नयाँ एजेण्डा: संघीयता खारेज, नेताको सुरक्षा कटौती - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ओली पक्षको नयाँ एजेण्डा: संघीयता खारेज, नेताको सुरक्षा कटौती



काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली समुहकै नेताहरूले संघीयता खारेजीको मागलाई ब्यापक बनाउँदै लागेका छन् । केहि नेताहरूले पछिल्लो समय संघीयता देशले धान्न नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने तर्क गर्न थालेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ निरु पालले संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भएकाले प्रदेश खारेज गर्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री ओलीलाई अनुरोध गर्दै उनले हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएकाले संघीयता आवस्यक नभएको तर्क गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार साँझ विघटित प्रतिनिधी सभाकी सांसद पालले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन्।

उनले आर्थिक स्थिति कमजोर भएको मुलुकले संघीयता धान्न नसक्ने दाबी गरेकी छन्। ‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनैदिन टिकट पाएछु र जनताले हराएछन भनेपनि ठिकै छ सहुँला।’ उनले भनेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ।’

विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति पालले तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा सेवा पुर्‍याउनुपर्ने बताएकी छन्।

‘प्रधानमन्त्री ज्यू, यो संघियता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री, कोहि प्रदेश मन्त्री, कोहि सांसद छौं, तलब भत्तामै देशको ढुकुटि न सिध्याऔं।’उनले लेखेकी छन्,‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं। ’

ओली समूह निकट रहेकी पालले नेताहरुको सुरक्षा पनि कटौती गर्न माग गरेकी छन्। ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले भनेकी छन्, हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन, नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’