अफ्ठ्यारोमा पर्दैछन देउवा, पौडेलले उठाए यस्तो मुद्दा - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

अफ्ठ्यारोमा पर्दैछन देउवा, पौडेलले उठाए यस्तो मुद्दा



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग देशको पछिल्लो घटनाक्रममा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । यो मागले देउवा भने अफ्ठ्यारोमा पर्ने देखिएको छ ।

गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन्।

“देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो”, उनले भने, “यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक छ ।”

पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि ७ पुसदेखि सुरु भएको बैठक १३ माघमा सकिएको थियो ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधमा भन्दै कांग्रेसले २४ माघमा शुभेच्छुक संस्थाहरू र ३ फागुनमा जिल्ला कार्यसमितिहरूलाई विरोध -याली तथा सभा गर्न निर्देशन गरेको छ ।

सरकारले अध्यादेशमार्फत सिफारिस गरेका ११ वटा संवैधानिक निकायका ३२ जना पदाधिकारीलाई बुधबार नियुक्ति गरेपछि कांग्रेसमा त्यसबारे धारणा बनाउन पार्टीको बैठक बोलाउनुपर्ने माग उठेको हो ।