एमसीसीको विरोध नगर्न प्रचण्डले कार्यकर्तालाई दिए निर्देशन
काठमाडौं- विभाजित नेकपाको आन्दोलनमा एउटा बिचित्रको दृश्य देखिएको छ । सधैभरी एम्सीसीको विरोध गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीविरुद्ध नाराबाजी गर्नबाट कार्यकर्तालाई रोकेको दृश्य देखिएको छ ।
बिहीबार नेकपा प्रचण्ड-नेपाल समुहले आयोजना गरेको आम हड्तालको अवलोकन तथा कार्यकर्तालाई भेट्न हिँडेका प्रचण्डले एमसीसीविरुद्ध नारा लगाएका कार्यकर्तालाई त्यस्तो नारा नलगाउन आर्हरा गरेका थिए ।
गाडी चढेर आमहड्ताल अवलोकन गर्न पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका एमसीसीका विरोधी प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)विरुद्ध नाराबाजी नलगाउन आग्रह गर्दै ओलीविरुद्ध नारावाजी केन्द्रित गर्न लगाएका थिए ।
बिहिबार मध्यान्ह प्रचण्डसँगै स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्यहरू सूर्य सुवेदी, विष्णु रिजाल पनि थिए । कार्यकर्ताहरूले उत्तेजित हुँदै ‘एमसीसी चाहिँदैन’ भन्दै नाराबाजी सुरु गरेका थिए । तर प्रचण्डले एमसीसीविरुद्ध नारा नलगाउन निर्देशन दिए ।
सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइरहेको भिडियोमा प्रचण्डले ‘त्यो रोक्नुस्’ भनेर पम्फा भुसाललाई आग्रह गरको देख्न सकिन्छ । भुसालले तुरुन्तै छेउमा रहेका नेतालाई आग्रह गरेपछि उनले कार्यकर्तालाई संयमित तुल्याएका थिए । र, एमसीसीविरोधी नारा साम्य भएको थियो ।
अमेरिकी सहायताको परियोजना एमसीसी संसद्मा विचाराधीन छ । एमसीसी पास गर्ने कि नगर्ने भनेर नेकपाका विवाद चुलिएपछि कार्यदल नै बनेको थियो ।
झलनाथ खनाल संयोजक र भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाउँदै जस्ताको तस्तै पारित गर्न नहुने सुझाव दिए पनि पार्टीमा छलफल हुन सकेको थिएन ।