बिहानैदेखि शीतलनिवासमा चहलपहल: भब्य नियुक्तिको तयारी
काठमाडौँ- बिहानैदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास शीतलनिवासमा चहलपहल छ ।
संवैधानिक आयोगमा सिफारिस भएका ४५ जना पदाधिकारीहरुको बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ। शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो।
यसअघि भएको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगलगायत संवैधानिक निकायका प्रमुखसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि संसदीय समिति नरहेकोले संवैधानिक आधार नभएको भन्दै संवैधानिक परिषद्को निर्णयको फाइल नै फिर्ता गरिसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संसद विघठन गराइसकेको र संसदीय समिति नै अस्तित्वमा नै नरहेको अवस्थामा भने ४५ दिने हदबन्दीको अर्थ नहुने तर्क कानुनविद्हरुको छ ।
सुनुवाई समितिमै नपुगी ४५ दिन पुर्याएर अनुमोदनविनै नियुक्त गरिनु अवैधानिक हुने तर्क उनीहरुको छ । सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिटसमेत दायर गरेका छन् ।
संवैधानिक परिषद्ले संवैधानिक निकायका ३८ पदमा नियुक्तका लागि सिफारिस गरेको थियो । परिषद् बैठक बस्न र आफ्नो पक्षमा निर्णय हुन नसक्ने भएपछि परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर अनकुल बनाएका थिए ।