पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय



एजेन्सी- रुसस्थित एक अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा अभियानकर्मी हुन् ।

बीबीसीका अनुसार नाभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षको जेल सजाय सुनाएका हुन् ।

जेल सजाय सुनाइएपछि नाभाल्नीले राष्ट्रपति पुटिनलाई आफूले चुनौति दिएको र आफ्नो आवाज दबाउनका लागि जेल पठाइएको प्रतिक्रिया दिएका छन् ।

यसअधि नाभाल्नीमा स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग भएको थियो । उनी महिनौंसम्म जर्मनीमा उपचार गरेर रुस फर्किएका थिए । त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

नाभाल्नीलाई पक्राउ गरेदेखि नै रुसमा विरोध प्रदर्शन हुँदै आएको छ । नाभाल्नीलाई सजाय सुनाइएपछि उनका समर्थकले विरोध र्‍यालीको आयोजना गरेका थिए । प्रतक्ष्यदर्शीका अनुसार त्यसक्रममा करिब तीन सयलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।

नाभाल्नीले यो सजयउपर अपील गर्ने बताएका छन् । साथै युरोपेली काउन्सिलले यसलाई विश्वसनीयताको उपेक्षा गर्न जजमेन्ट भनेको छ ।

ब्रिटिस विदेश मन्त्रालयका प्रवक्ताले यसलाई अनुचित बताएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्रीले पनि यसबारेमा प्रतिक्रिया दिएका छन् ।

उता रुसस्थित विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवले भने पश्चिमा देशले आफ्नो समस्यामा ध्यान दिनु आवश्यक रहेको टिप्पणी गरेकी छन् । उनले एक सम्प्रभु राज्यको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएकी छन् ।