'अयोध्यामा राम मन्दिर बन्न लागेको चितवनकै ठुला नेतालाई मन परेन' - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

‘अयोध्यामा राम मन्दिर बन्न लागेको चितवनकै ठुला नेतालाई मन परेन’



चितवन- नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट हटाउने खेल भएको बताएका छन् ।

नेकपा जिल्ला कमिटी चितवनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको स्वाभिमानलाई उँचो बनाउँदै विकास र समृद्धि हासिल नगर्दासम्म आफूले विश्राम नलिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई सुरुकै दिनदेखि पार्टीका केही शीर्ष नेताले लगातार असहयोग गर्दै सरकारमाथि अनावश्यक हमला गरी असफल बनाउने खेल खेलेको आरोप लगाए । ओलीले केही व्यक्तिका कारण पार्टी र सरकार सधैं समस्यामा पर्ने गरेको र उनीहरू बाहिरिएपछि सरकार र पार्टी दुवैले सशक्त रूपमा काम गर्न सकेको दाबी गरे । आफ्नो राष्ट्रियताको भावनालाई आमजनताले मन पराएकाले पार्टीभित्रकै केही शीर्ष नेताको सातो गएको उनले बताए । देशको स्वाभिमान र राष्ट्रियताका लागि ‘चुँ’सम्म बोल्न नसक्नले कथित राष्ट्रवादको जामा पहिरनु हास्यास्पद भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई कामै गर्न नदिएर अनावश्यक घेराबन्दी गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरी नेपाली जनतासमक्ष आएको स्पष्ट पारे ।

‘राष्ट्रियता र सीमा मिचिएको विषयमा सरकार प्रमुखले बोल्दा राजीनामा माग्ने काम भयो । पार्टीको संगठन निर्माण गर्न काम नगरी गुट निर्माणको काम भयो । सरकार र पार्टी सञ्चालनमा सधैं अवरोध गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा आएका हौं,’ प्रधानमन्त्री ओली भने ।

प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टर प्लान’ तयार भइरहेको बताए । ‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ । अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्वविद् तथा सभ्यताविद्को गन्तव्य हुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चितवनबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

‘यही जिल्लाबाट छानिएका, त्यहीको निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न ? कसका डरले हो ?’ प्रधानमन्त्री ओलीले त्यहाँका सांसद एवं राजनीतिक रूपमा विभाजित भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दैै भने, ‘राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयूरको प्वाँख लगाउँदैमा अर्को कुनै चरो मयूर हुँदैन । त्यो चरो त्यही रहन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले चितवनलगायत देशभरमा विकास निर्माणको काम भइरहँदा र हुन्छ भन्ने सुन्दासमेत नेकपा प्रचण्ड समूहका नेता अत्तालिने गरेको बताए ।

तीन वर्षे कार्यकालमा राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।

आमसभामा बोल्दै नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालीन माओवादीबाट तीन तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगर्ने नेताले गद्दारी गरेको बताए ।

‘हिजोका युद्धका नाइकेबाट सुन्यौं– यो सरकारले केही गरेन । यो युद्धका नाइकेहरूले तीन–तीनपटक प्रधानमन्त्री हुँदा वा अवसर पाउँदा युद्धका घाइतेका निम्ति के गर्नुभयो ? त्यो योद्धाहरूका निम्ति के सुविधा र व्यवस्था गरिदिनुभयो ? तपाईंहरूले केही गर्नुभएन,’ गृहमन्त्री थापाले प्रचण्डलाई प्रश्न गरे ।

‘तर म आजै जवाफ फर्काउँछु । पूर्वलडाकुको संरक्षण, व्यवस्थापन र निःशुल्क उपचारका लागि सरकारले काम गरिसकेको छ । पूर्वमाओवादी लडाकु सबैलाई सुविधा पाउने तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरेको छ । बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई कार्यदल बनाएर व्यवस्थापन गर्ने कार्य सुरु भएको छ । अब भन्नुहोस्, म गद्दार हो कि उनीहरू गद्दार हुन् ?’ गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले प्रचण्ड र नेपालहरूले प्रतिगमन गर्न खोज्दा सरकारले त्यसलाई परास्त गरेको बताए । ‘पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्ने कदम उठाउनुपरेको हो । संसद्को दुरुपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको हो,’ गृह मन्त्री थापाले भने । थपाले प्रचण्ड नेपालहरू नै प्रतिगमनको मतियार भएको आरोप लगाए । उनले गल्ती महसुस गरेर मूल धारमा फर्कन प्रचण्ड नेपाललगायतका नेताहरूलाई आग्रह गरे ।

नेकपाका स्थायी कमिटी सदस्य एवं सहरी विकासमन्त्री प्रभु साहले चितवनलाई बदनाम गराउन केही नेता लागि परेका बताए ।

‘कुनै पनि चुनाव नलडी जीवनभर पदमा बस्ने प्रवृत्तिको विरुद्ध हामी लागेका छौं, त्यस्ता प्रवृत्तिलाई परास्त गर्नुपर्छ,’ चितवन जिल्लालाई विकासका लागि सरकारले प्राथमिकतामा राखेको पनि मन्त्री साहले बताए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको विकासको अभियान देखेर केही कुतत्वहरू अनावश्यक रूपमा सलबलाउन पुगेको बताए ।