ओलीको सबै गलत कामको पर्दाफास गर्न माधव नेपालको निर्देशन - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ओलीको सबै गलत कामको पर्दाफास गर्न माधव नेपालको निर्देशन



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

‘केपी ओली झुटको पुलिन्दा हो। उहाँले एकै दिन एउटा पद तीनजनालाई दिन बाड्न सक्छन्,’ उनले भने, ‘उहाँले प्रचण्ड र मलाई भर्‍याङको रुपमा मात्रै प्रयोग गर्नुभयो।’

अध्यक्ष नेपालले ओलीलाई प्रतिगमनको प्रतीकको संज्ञा दिए। ‘ओली प्रतिगमनको प्रतीक हो,’ उनले भने, ‘ओरिजिन एमाले भनेको माधव नेपाल हो। तर, अब त्यता फर्किने बेला होइन।’

उनले सबैको साझा उद्देश्‍य परिवर्तनको रक्षा भएको दाबी गरे। ‘हामी सबैको उद्देश्य एउटै हो। यात्रामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। तपाईहरुले सकारात्मक भूमिका खेल्नुहोस्,’ नेपालले भने, ‘अहिले साइबर सेना बनेको छ रे। तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस्।’

उनले आफू निकटका पत्रकारहरुलाई ओलीको झुटो कुरालाई खोजी खोजी बाहिर ल्याउन आग्रह समेत गरे। उनले भने, ‘तपाईहरु खोजी पत्रकारितमा लाग्नुहोस्, ओलीको सबै गलत फेहरिस्त ल्याउनुहोस्।’

ओलीले संसद विघटन गरेपछि कामचलाउन प्रधानमन्त्री भन्नुपर्ने या पद छोड्नुपर्ने समेत बताए।