रात परेपछि लगातार शीतलनिवास छिर्न थालिन चिनियाँ राजदूत
काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले लगातार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेकी छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि मात्रै यान्छी तीन पटक राष्ट्रपति निवास शाएकी छन् ।
चीनले विभाजन भैसकेको नेकपालाई पुन एकतावद्ध बनाउने अभियान चलाएपनि सफल नभएको चर्चा भैरहेका बेला यान्छी भने राती-राती राष्ट्रपति निवास धाउन थालेकी छन् ।
केहिदिन यता एउटा चिनिया टोलीले नेकपाका दोस्रो र तेस्रो तहका नेताहरूलाई लगातार भेटिरहेको र नेकपा जोगाउने कसरत गरिरहेको बेला यान्छी थप सक्रिय भैरहेकी छन् ।
राजदूत होउले गत शुक्रबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी स्रोतले जनाएको छ ।
भेटवार्ताबारे शीतलनिवासले कुनै जानकारी सार्वजनिक गरेको छैन । नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला भएको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । नेपाली पक्षले भेटवार्ताबारे केही नखुलाए पनि चिनियाँ दूतावासले भने भेटवार्ता भएको खुलाएको छ ।
यसअघि नेकपा विभाजन रोक्न होउ सक्रिय थिइन् । पुस ५ गते केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि होउले राष्ट्रपति भेटेको यो तेस्रोपटक हो ।
सत्तारुढ नेकपा नफुटोस् र नेपालमा राजनीतिक स्थिरता रहोस् भन्ने चिनियाँ चाहना रहेको चिनले बारम्बार दोहोर्याउँदै आइरहेको छ ।