प्रचण्डको आक्रामक भाषण: 'भेजिटेरियन आन्दोलनको काम छैन, मेरो टाउको चिलाएको छ' - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डको आक्रामक भाषण: ‘भेजिटेरियन आन्दोलनको काम छैन, मेरो टाउको चिलाएको छ’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भाषण गरेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिकारी बनेकाले आफूहरू जाइलाग्न तयार भएको बताउँदै आन्दोलनमा आक्रामक बन्न युवाहरूलाई निर्देशन दिएका हुन् ।

अनेरास्ववियूले आइतबार आयोजना गरेको वाग्मती प्रदेशस्तरीय भेलामा ओली प्रतिक्रान्तिकारी कित्तामा उभिँदै संसद्को मास्न उद्यत रहेको बताए । उनले आफूहरूले ओलीको प्रतिगामी कदम रोक्नैपर्ने भएकाले आफै टाउको फुटाउन तयार रहेको बताए ।

“हामीभित्र आवेग छ,” उनले युवा-विद्यार्थीहरूलाई उत्तेजित बनाउँदै भने, “हामीले हिजो अध्यक्ष बनाएका केपी ओली प्रतिक्रान्तिकारी बने, हामी उनीमाथि जाइलाग्न चाहन्छौं ।”

प्रचण्डले गर्जिंदै भने, मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीहरुलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन खालको आन्दोलनले काम नहुने बताए ।

उनले प्रधानमन्त्री ओलीले संविधानमाथि छुरा धसेको, बुट बजारेको बताए । त्यस्तै उनले मणि थापामाथि पनि आक्रोश पोखे । उनले एकजना पनि कार्यकर्ता नभएकालाई स्थायी कमिटी सदस्य बनाएको तर नयाँ जोगीले बढी खरानी घस्छ भनेझैँ मन्त्री बनेर त्यो रूपमा प्रस्तुत भएको बताए ।