प्रधानमन्त्री र राष्ट्रपतमाथि खनिए भिम रावल: एक नम्बरको भगुवा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रधानमन्त्री र राष्ट्रपतमाथि खनिए भिम रावल: एक नम्बरको भगुवा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको कुन धाराको काम के हो भन्ने नै नबुझेको बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो स्पष्ट पार्न आग्रह समेत गरेका छन्। नेकपा विद्यार्थीहरूले आयोजना गरेको उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै रावलले ओलीलाई कुनै धारको पनि अर्थ थाहा नभएको बताए।

कार्यक्रमलाई सम्वोधन गर्दै रावलले प्रधानमन्त्री ओलीलाई सोधे, ‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?,

कार्यक्रममा रावलले प्रधामन्त्री ओली ‘भगुवा’ भएको समेत बताएका छन्। रावलले ओली संसददेखि भागेको बताएका हुन्। ‘संसदबाट, पार्टीबाट भाग्नेलाई शब्दकोषमा एक नम्बरको भगुवा भनिन्छ’, उनले भने ।

रावलले नेकपा (एमाले) हुँदाबाट नै ओलीले गुटबन्दी सुरु गरेको आरोप लगाए। ओलीले पार्टी एकीकरण गर्दै तीन बर्ष अघि पार्टी नफुटाउने खाएको वाचा बिर्सिएको समेत रावलले बताए।

ओलीले संविधान र पार्टी माथि नै खडग चलाएको भन्दै उनले कम्युनिस्ट पार्टी र इतिहासमा सबैभन्दा घात गर्ने नेता केपी ओली रहेको बताए।

रावलले राष्ट्रपतिले सरकारले सिफारिस गर्ने बित्तिकै प्रतिनिधिसभा विघटन गरेकोमा समेत प्रश्न गरे। ‘सिंहदरबारमा निर्णय नभइ किन शीतल निवासमा छाप लगाउनुभो। राष्ट्रपति जवाफ दिनुस्’ रावलले भने।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफासिस अनुमोदन गर्दा संविधानको धारा ७५ को उपधारा १ र ७ को उल्लेख गरेकी छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो।

संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्री बनेको व्यक्तिले सोही धाराको उपधारा १ प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्नु नै असंवैधानिक भएको भन्दै प्रश्न उठ्न थालेको छ। तर कुनै पनि दलले स्पष्ट बहुमतको प्राप्त गरेको अवस्थामा मात्र संविधानको उपधारा १ अनुसार प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरिएको छ।

तर प्रधानमन्त्री ओलीले भने आफू बहुमतको प्रधानमन्त्री भएपनि आफूलाई पार्टीले नै काम गर्न नदिएको भन्दै प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै आएका छन्।