ओली प्रवृतिको 'मेजर अप्रेशन' गर्नुछ, टाउको हाम्रै फुटोस्, युवाको नफुटोस्: प्रचण्ड - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

ओली प्रवृतिको ‘मेजर अप्रेशन’ गर्नुछ, टाउको हाम्रै फुटोस्, युवाको नफुटोस्: प्रचण्ड



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओलीप्रवृत्तिको मेजर अप्रेशन गर्नुपर्ने भएकाले यही माघ ९ गते हुने काठमाडौं केन्द्रित आन्दोलनमा आवेग र आक्रोश लिएर आउन युवाहरूलाई आह्वान गरेका छन्। उनले देशले सात दशकमा प्राप्त गरेको उपलब्धिमाथि ओलीले धावा बोलेकाले सडकबाट संघर्ष गर्नुको विकल्प नभएको बताएका हुन् ।

दोस्रो जनआन्दोलनका बेलामा भएको सडक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको भूमिका उल्लेख गर्दै उनले भने ‘त्यो बेला रत्नपार्कमा प्रहरीले डन्डा हानेर गिरिजाप्रसाद कोइरालाको टाउको फुटाएको हामीले देखेका छौं। त्यसैले हामीले युवाहरूलाई अगाडि आउन भन्दैनौं। हामी नै अगाडि लाग्छौं। घेरा तोड्नुपरे पनि हामी नै तोड्छौं टाउको हाम्रै फुटोस् तपाईंहरूको नफुटोस्।’

उनले ९ गतेको आन्दोलन काठमाडौं केन्द्रित गरिएको र २ लाख मानिस उतार्ने तयारी भइरहेको पनि बताए।

‘युवाहरूमा भएको आवेग र आक्रोश लिएर आउनुहोला। हाम्रा उपलब्धी गुमेका छन्। संविधान मारिएको छ। यस्तो बेलामा हामीमा आक्रोशित त हुनैपर्छ’ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले संविधान मारेर प्रधानमन्त्री केपी ओली ‘मजाक’ गर्दै हिंडेकाले सचेत गराएको बताएका छन्। प्रचण्डले भने ‘उहाँले जनता हँसाउँदै हिंड्दा मलाई किन पीर पर्नु र? मलाई पिर परेको छैन। बरु मलाई चिन्ता छ। संविधान मारिएको बेला हामी हाँस्न सक्दैनौं। जनताका उपलब्धि गुम्न लागेका बेलामा हामी कमिक गर्दै हिँड्दैनौं।’

उनले गणतन्त्र ल्याउने आन्दोलनको उत्सव मनाइरहँदा ओली भने रुँदै हिंडेको आरोप पनि लगाए।

‘गणतन्त्र ल्याउने आन्दोलनका बेला हामीले उत्सव मनाएका थियौं। तर तपाईं त यस्तो हुँदैन भनेर रुदैँ हिंड्नुभएको थियो। अहिले संविधान मारेर फेरि हाँस्दै हिँड्नुभएको छ। तपाइँको यही उल्टो खोपडीको कुरा गरेको हुँ।’

केही दिनअघि एउटा कार्यक्रममा प्रचण्डले ओलीले संसद विघटन गरेर जनता हँसाउँदै हिँडेको आरोप लगाएका थिए। त्यसपछि शनिबार ओलीले एउटा कार्यक्रमबाट प्रचण्डलाई जवाफ फर्काएका थिए ‘अब जनता नहँसाएर के म मान्छे रुवाउँदै हिँडु?’ उनले प्रचण्ड–माधवहरू आफूले जनता हँसाएकोमा पीर मानेको बताएका थिए।

उनले केपी ओलीहरू ‘जन्त जाँदा रुने र मलामी जाँदा हाँस्ने’ स्वभावका रहेकाे पनि बताए।

‘उहाँहरूले लाजै नमानेर नेकपा र सूर्य चिन्ह हाम्रै हाे भन्न निर्वाचन आयोगमा जानु भएछ’ उनले भने ‘तपाईंहरू ढुक्क हुनुस्। सूर्य चिन्ह पनि हाम्रै हो। नेकपा नाम पनि हाम्रै हो।’