निर्वाचनको तयारी गर्न आयोगले सर्वदलीय छलफल डाक्यो
काठमाडौं- आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
संसद विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ भने प्रतिपक्ष नेपाली कांग्रेसलगायतका अन्य राजनीतिक दलहरु लगातारको विरोध प्रदर्शनमा जुटेका छन् ।