संसद् विघटनविरुद्धको मुद्दा १ नं. इजलासमा
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको आज संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ ।
सुनुवाईका लागि सर्वोच्च अदालतले १ नं. इजलासमा पेशी तोकेको छ । यसका लागि संवैधानिक इजलास गठन समेत अदालतले गरेको छ । आज गठन गरेको संवैधानिक इजलासमा पनि पुरानै न्यायाधीशहरूको नाम छ ।
आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्। यसअघि शुक्रबारको इजलासमा पनि उनीहरु नै थिए। शुक्रबारको इजलासले निरन्तर सुनुवाइको निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि यसका विरुद्ध सर्वच्चो अदालतमा मुद्दा परेको हो। यसमा सुनुवाइ हुँदै आएको छ।
शुक्रबारसम्म यसलाई बृहत पूर्ण इजलासमा पठाउने कि संवैधानिक इजलासमै सुनुवाइ गर्ने भन्नेमा बहस चल्दै आएको थियो।