मोदीले भेटसम्म नदिनु अशोभनीय, अब सोच्नुपर्छ: डा. लोहनी
काठमाडौं- पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्रमन्त्रीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना भएको टिप्पणी गरेका छन् ।
भारत भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी नेपाल फर्किएपछि डा. लोहनीले यस्तो टिप्पणी गरेका हुन् । ज्ञवालीले मोदीसँग भेटका लागि भ्रमण अगाडि र भ्रमणको क्रममा पनि लामो प्रयास गरेका थिए ।
‘नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना हो,’ राप्रपाका अध्यक्ष समेत रहेका लोहनीले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,’यस्तो किन भयो ? नेपाल र भारत दुबैले सोच्नुपर्यो ।’
भारतको सामान्य पत्रकारदेखि रअका अधिकारीसम्मलाई प्रधानमन्त्री ओलीले बालुवाटारमै न्यानो आतिथ्यता दिइरहेको बेला नेपालका परराष्ट्रमन्त्रीलाई भारतका प्रधानमन्त्रीले भेट नदिएको खबर सामाजिक सञ्जालमा चर्चामा छ ।