नयाँ युगमा प्रवेश गर्नका लागि संसद विघटन: शंकर पोखरेल
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नयाँ युगमा प्रवेश गर्नका लागि प्रतिनिधिसभा विघटन भएको बताएका छन् । उनले पुष्पकमल दाहाल प्रचण्डले भनेको जस्तो प्रतिनिधिसभाको मासेको होइन भन्दै जिकिर समेत गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने गरी नयाँ संसदको खोजी भएको उल्लेख गरेका छन् । उनले दाहाल–नेपाल समूहले भनेको जस्तो संसद मासेको भन्नु गलत रहेको समेत बताए ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको÷संसदको ह’त्या गरेको नभै नयाँ जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो, नयाँ युगतर्फको यात्राका लागि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजन भएको छ । कानुनी रुपमा विभाजित नभए पनि नेकपमा अहिले दुई खेमा छ ।
प्रधानमन्त्री ओली पक्षले प्रतिनिधिसभा संवैधानिक भन्दै निर्वाचनको तयारीमा जुटेको छ भने दाहाल–नेपाल समूह प्रधानमन्त्रीले असंवैधानिक कदम चालको भन्दै सडक संघर्षमा छ । सर्वोच्च अदालतमा पनि मुद्दाले प्रवेश पाएको छ । आइतबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धमा परेका १३ वटा रिटमा निरन्तर सुनुवाइ हुँदैछ ।