गगन थापाले सम्झाए नेम्वाङको हैसियत, गरे कडा व्यंग्य
काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले सुवास नेम्वाङले आफ्नो हैसियत बिर्सिएको भन्दै कडा व्यंग्य गरेका छन् । राजधानीमा शनिबार आयोजित ओली समुहको कार्यक्रममा नेम्वाङले नाम बिर्सिएको तिर इंगित गर्दै थापाले कडा व्यंग्य गरेका हुन् ।
संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले संविधान, आफ्नो जिम्मेवारी र हैसियत बिर्सिएको थापाले आरोप लगाएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका नेम्वाङले शनिबार ओली गुटको कार्यक्रममा ओलीइतर समूहतर्फ लक्षित गर्दै ‘नाम बिर्सिएँ’ भन्दै कटाक्ष गरेका थिए ।
नेता थापाले सरकारविरुद्ध आयोजित विरोधसभामा नेम्वाङले आफ्नो हैसियत र संविधान नै बिर्सेको भन्दै ओली गुटमा पसेपछि सबै बिर्सिने भन्दै आश्चर्य समेत प्रकट गरेका छन् ।
थापाले भनेका छन्, ‘‘सुवास नेम्वाङको सुन्दै थिएँ, कसको कसको नाम बिर्सिएँ रे । नाम होइन कमरेड, तपाईंले संविधान नै बिर्सनुभयो,’’ उनले भने, आफ्नो जिम्मेवारी नै बिर्सनुभयो । तपाईंले आफनो हैसियत बिर्सनुभयो । तपाईंलाई थोरै पनि अप्ठयारो लाग्दैन ?’’
संविधान बनाउँदा संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले अहिले पनि प्रतिनिधिसभा विघटन संविधानसम्मत छ भनेर भन्न नसकेको थापाको भनाइ थियो ।
तर, नेम्वाङले प्रधानमन्त्रीले गलत गर्नुभयो भन्न नसकेको भन्दै कांग्रेस नेता थापाले ओलीका वरिपरि बस्नेहरुले कुरी कुरी भन्नु पर्नेमा वाह ! वाह ! भनेको भन्दै आश्चर्य व्यक्त गरे ।