संसद पुनर्स्थापना नभए अदालत सेटिङमा चलेको प्रमाणित हुन्छ: भुसाल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

संसद पुनर्स्थापना नभए अदालत सेटिङमा चलेको प्रमाणित हुन्छ: भुसाल



बुटवल- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले संसद पुनर्स्थापना नभए अदालत सेटिङमा चलेको प्रमाणित हुने बताएका छन् । भुसालले सेटिङबाहेक अर्को कुनै पनि तागतले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने बताउँदै यस्तो दाबी गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा भेलालाई सम्बोधन गर्दै नेता भुसालले देशलाई बर्बादीबाट बचाउनका लागि संसद पुनर्स्थापनाको विकल्प नभएको भन्दै न्यायलयले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।

‘संविधानलाई च्यातिन नदिन पनि संसद पुनर्स्थापना हुनुपर्छ’ नेता भुसालले भने, ‘संसद पुनर्स्थापना नभए मुलुक डरलाग्दो भूमरीमा फस्छ।’

नेता भुसाले न्यायलाई दबाब दिने गरी काम भएको भन्दै त्यसो हुन नदिन आफूहरु सडक संघर्षमा रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान भत्काउने योजनाअनुसार संसदबाट आक्रमण सुरु भएको बताए।

‘सबै कुरा आफ्नो नियन्त्रणमा राख्न नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो, प्राप्त उपलब्धिहरु नाँसिने खतरा छ’ उनले भने।

संसद पुनर्स्थापना हुन नदिने षड्यन्त्रविरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबद्ध हुनुपर्ने उनको भनाइ छ। नेता भुसालले देशका बुद्धिजिवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए।

पूर्व मन्त्रीसमेत रहेका नेता भुसालले पार्टी कब्जा गर्ने, विधि-प्रक्रियाअनुसार नचलाउने, घोषणा पत्रअनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको स्पष्ट पारे।