पदका लागि प्रचण्डले माओवादी आन्दोलन नै बेचे: प्रभु शाह
काठमाडौं– शहरी विकास मन्त्री प्रभु शाहले कम्युनिस्ट आनदोलनलाई सफल बनाउन कम्युनिस्ट पार्टी प्रचण्डमुक्त बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै मन्त्री शाहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण देश गम्भीर संकटमा पुगेको भन्दै कम्युनिस्ट आनदोलनलाई सफल बनाउन प्रचण्डमुक्त पार्टी बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले प्रचण्डले आफ्नो पदभन्दा बाहिर जान नसकेर पदकै लागि माओवादी आन्दोलन बेचेको समेत बताए ।
‘प्रचण्डले पदको लागि माओवादी आन्दोलन बेचे, अहिले कम्युनिस्ट आन्दोलन पनि धरापमा पुर्याएका छन् । प्रचण्डले पद संकटमा परेपछि आफ्नो विचार र एजेण्डा सबै छाड्ने प्रवृत्ति छ,’ उनले भने, ‘देश गम्भीर संकटमा पुगेको छ । कम्युनिस्ट आन्दोलनलाई सफल गर्ने हो, नेपाल समृद्धिको बाटोमा लैजाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ ।’
प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि कृत्य हस्ताक्षर गरेको आरोप लगाए । ‘अविश्वासको प्रस्तावमा मेरो पनि हस्ताक्षर छ । असारमा एउटा प्रयोजनका लागि उठाइएको थियो । आफ्नै सरकारलाई अविश्वासको प्रस्तावमा हालिएछ’ उनले भने ।
उनले प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालले पदको लोभले पार्टीमा बिग्रह सिर्जना गरेको दाबी गरे । साथै उनले प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्ने कुरामा सत्यता नभएको भन्दै मधेसी जनता ओलीको पक्षमा रहेको दावी गरे । ‘मान्छेहरु केपीजी भनेको मधेस विरोधी भन्थे, त्यो झुठ रैछ’, उनले भने ।
संकटका बेला पनि मधेसी जनता ओलीको पक्षमा, सत्यको पक्षमा र परिवर्तनको पक्षमा रहेको बताउँदै उनले प्रधानमन्त्री लामो सयमदेखिए एउटै कुरा बोल्दै आएको र झुटा आश्वासन दिएर जनतालाई धोका दिने काम नगरेको बताए ।
‘ओली ३० वर्ष अगाडि १० वर्ष अगाडि जे बोल्नुभएको छ अहिले पनि त्यही बोल्दै आउनुभएको छ। सत्यको पछाडि लाग्छ मधेसी जनता’, उनले भने । उनले मधेस स्वायत्त प्रदेश दिने नाममा मधेसी जनतालाई प्रचण्डले धोका दिएको समेत बताए ।