यसरी देश बन्दैन, प्रणाली नै फेरौँ: माधव नेपाल
काठमाडौं- प्रचण्ड–नेपाल पक्षका नेकपा अध्यक्ष माधवकुमार नेपालले देशको सिंगो प्रणली नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा ‘जब फेयर २०२१’ को उद्घाटन गर्दै नेपालले सिंगो देश बनाउने कुरामा सरकारको भूमिका हुने भएपनि सरकार गम्भिर नभएको भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको धारणा राखेका हुन् ।
‘ताप्केको बिड तातेर केही हुँदैन । माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो’, उनले भने ।
देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए ।
नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाई छ ।
विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढेपनि आर्थिक विकासको निम्ति मानव संसाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए ।