काठमाडौंमा १ लाख कार्यकर्ता उतार्ने प्रचण्ड-नेपालको तयारी
काठमाडौं- प्रचण्ड–माधव नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कडा आन्दोलनको तयारी गरिरहेका छन् । यसअघिको बैठकले तय गरेको आन्दोलनअन्तर्गत काठमाडौंमा एक लाख कार्यकर्ता उतार्ने प्रचण्ड-नेपाल समुहको तयारी छ ।
उनीहरूले आगामी माग २३ गते काठमाडौंमा १ लाख कार्यकर्ता उतार्ने तयारी गरिरहेको बताईएको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख कार्यकर्ता उतार्ने बताएका हुन् ।
त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिए । शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए ।
‘यो संसद विघटनमा मात्रै सिमित नरहन सक्छ । सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण र परिवर्तनमाथिको आक्रमण हो’, श्रेष्ठको भनाइ छ ।
उनले यो प्रधानमन्त्री केपी ओलीको यो कदमले समग्रतामा प्रतिगमनलाई अघि बढाउन ढोका खोल्ने खतरा रहेको पनि बताए । ‘त्यसकारणले हामीले प्रतिगामी कदम मुर्दावाद पनि भनेका छौ’ संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइ छ ।
सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अधिकार दिएको भन्दै सर्वोच्च अदालतले केही गर्ला भनेर भन्न नपर्ने भन्दै संविधान विपरित गएर निर्णय भएमा त्यसवेला संविधानको कुनैपनि धारा काम नलाग्ने बताए । तर उनले जनताको खवरदारी आवश्यक रहेको भन्दै संसद विघटनको निर्णय खारेज भएर प्रतिनिधि सभा सुचारु नभएसम्म संघर्ष नरोकिने बताए ।