'ओलीजी तपाईं नेम्वाङ लिएर आउनुहोस्, म यादवलाई लिएर आउँछु' - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

‘ओलीजी तपाईं नेम्वाङ लिएर आउनुहोस्, म यादवलाई लिएर आउँछु’



काठमाडौं – कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओली क्रान्तिकारी नभएर भगौडा भएको आरोप लगाएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबारकाठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने उनको भनाइ छ।

‘प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले सम्बोधन गर्दै भन्नुभयो–हामी क्रान्तिकारी हौँ’, नेता थापाले भने, ‘होइन प्रधानमन्त्री क्रान्तिकारी होइनन्, संसद छोडेर भागेका भगौडा हुन्। क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्नुहुन्थ्यो।’

‘खुला मञ्चमा सँगै बसेर संविधान पढौँ’

त्यसैगरी प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई शुक्रबार धनगढीमा आयोजित सभामा संविधान पढ्न सुझाव दिएका ओलीलाई जवाफ दिँदै थापाले सँगै बसेर संविधान पढ्न खुलामञ्च आउन आह्वान गरेका छन्।

‘हिजो धनगढी पुगेर प्रधानमन्त्री ओलीले संविधान पढ्न सुझाव दिनु भएछ’, थापाले भने, ‘कमरेड ओली आउनुहोस्। तपाईं सुवास नेम्वाङ र अग्नि खरेल लिएर आउनुहोस्। म संविधान ढोग्ने रामवरण यादवलाई लिएर आउँछु। खुला मञ्चमा सँगै बसेर संविधान पढौँ।’

थापाले प्रधानमन्त्री ओलीले चाहिँ संविधान अध्ययन गर्नुपर्ने बताए। संविधान अध्ययन गरेको भए प्रतिनिधिसभा विघटन नहुने उनको भनाइ छ।

प्रधानमन्त्रीको आलोचनामा धेरै समय खर्चिएका थापाले राष्ट्रपतिकोसमेत आलोचना गरे। प्रधानमन्त्रीले संसद् विघटनका लागि लगेको अध्यादेश राष्ट्रपतिले १८ मिनेटमै जारी गरेको भन्दै आपत्ति जनाए। प्रतिनिधिसभा विघटनको अपराध प्रधानन्त्रीसँगै राष्ट्रपतिलाई पनि लाग्ने उनको भनाइ छ।

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आह्वान गर्दै थापाले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याउने दाबी गरेका छन् । उनले प्रधानमन्त्री बालकोट पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमेत शीतल निवासमा नहुने बताएका छन् ।

नेता थापाले प्रतिनिधिसभा विघटनो मुद्दा अदालतमा रहेको भन्दै न्यायाधीशलाई नेताको अनुहार नहेरी संविधान हेरेर फैसला गर्न सुझाए।