अमेरिकी संसदमा आक्रमण: ट्रम्पका समर्थकले गरे कब्जा, कर्फ्यु घोषणा - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

अमेरिकी संसदमा आक्रमण: ट्रम्पका समर्थकले गरे कब्जा, कर्फ्यु घोषणा



काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ ।

संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ । अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो ।

सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसे । सभामुखको कार्यकक्षमै पसेर, कुर्सीमा पसेर ट्रम्पको पक्षमा नाराबाजी भयो ।

ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको हो । संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमण गरेका हुन् । उनीहरुले तोडफोड गरेका छन् । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् ।

ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।

ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप भने लगाएका छन् ।

प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एकजनाको ज्यान गएको छ ।

सयौँ हतियारधारी ट्रम्प समर्थक चुनावको नतिजा उल्ट्याउनका लागि कांग्रेस भवनमा प्रवेश गरेपछि इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रम केही समयका लागि रोकिएको छ ।

झण्डै तीन घण्टासम्म हतियारधारी ट्रम्प समर्थकले संसद भवनमा नियन्त्रण कायम गरेका थिए । प्रहरीले सांसदहरुलाई भवनबाट निकालेका थिए । त्यसपछि स्थानीय समय अनुसार बुधबार बेलुका साढे पाँच बजे प्रहरीले भवनमा नियन्त्रण कायम गरेको छ ।

सुरक्षा व्यवस्थाका लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म १३ जना पक्राउ परेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको गतिविधि बिद्रोही गतिविधि रहेको बताएका छन् ।