अविश्वास प्रस्तावको विवरणसहित सभामुखले सर्वोच्चलाई पठाए जवाफ - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

अविश्वास प्रस्तावको विवरणसहित सभामुखले सर्वोच्चलाई पठाए जवाफ



काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । सभामुख सापकोटाले अविश्वास प्रस्तावको दर्ता समय समेत उल्लेख गरेर सो व्यहोरासहितको लिखित जवाफ आइतबार सर्वोच्चमा पठाएको बताइएको छ ।

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै आएका सापकोटाले सर्वोच्चमा पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका हुन्।

सापकोटाले सर्वोच्चलाई पठाएको जवाफमा लेखेका छन्, ‘संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा सम्म संसद विघटन गर्न मिल्दैन, २०७२ को संविधानले हालको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन ।’

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरिएको थियो । सो कदम बदर गर्न माग गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङसहितका नेकपाका सांसदहरू, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली, कञ्चनकृष्ण न्यौपाने, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई, तुलसी सिम्खडालगायतले रिट दायर गरेका थिए।

पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ताको समयबारे सहितको कागजात १९ गते (आइतबार) पेस गर्न आदेश जारी गरेको थियो।