सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गरोस: २५ समूह नेपाल
काठमाडौँ- ‘२५ समूह नेपाल’ सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गरेर देशको संकट समाधान गर्न आग्रह गरेको छ । उक्त समुहले अहिलेको राजनीतिक संकट समाधानको एकमात्र विकल्प संसद् पुन:स्थापना रहेको समेत जनाएको छ ।
संवैधानिक, निजामती र सुरक्षा निकायका पूर्वपदाधिकारी सम्मिलित समूहका संयोजक उपेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा ‘पुस ५ गतेको कदमले देश गम्भीर संवैधानिक र राजनीतिक संकटको अध्यायमा प्रवेश गरेको’ उल्लेख छ ।
समूहले सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्ने पनि आशा राखेको छ । ‘महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई संसद् विघटन फिर्ता लिई देशलाई यो विषम परिस्थितिबाट मुक्ति दिने विवेकपूर्ण पहल गर्न अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कामचलाउ भइसकेकाले सरकारले कुनै पनि राष्ट्रिय महत्त्वका सम्झौता गर्ने हैसियत नराख्ने भएकाले छिमेकी राष्ट्रहरूको उच्चस्तरीय भ्रमण पनि गर्न नहुने समूहले जनाएको छ ।